काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै ओमानलाई ८४ रनले हरायो।
जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो। ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाए।
यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाए। बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए।
यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो।
यो नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च रन हो । यसअघि नेपालले पीएनजीविरुद्ध २९७ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ले १०८ रनको शानदार शतकीय पारी खेले । उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । कुशलले ५९ बलमा शतक प्रहार गरेका थिए ।
मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन्। यस्तै सोमपाल कामीले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ९ चौका प्रहार गरे।
भीम सार्की ३३ रन, आरिफ शेख २९ रन, कप्तान रोकित कुमार पौडेल २३ रन, सन्दीप लामिछाने ८ रन र करण केसीले २९ रन बनाए । ओमानका लागि आयान खानले २ विकेट लिए ।