काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपाल भ्रमणमा रहेको यूएईको टोलीले आफ्नो खराब लय कायमै राखेको छ । जारी सिरिजमा लगातार दोस्रो हार बेहोर्नेक्रममा यूएईले आइतबार नेपालविरुद्ध १ सय ७७ रनको फराकिलो हार बेहोर्यो । योसँगै लिग–२ को शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउने यूएईको सपना समाप्त भएको छ ।
यसैबीच, यूएईका कप्तान मोहम्मद वसिमले नेपालविरुद्धको हारपछि प्रतिक्रिया दिएका छन् । ‘हामीले बलिङमा उत्कृष्ट सुरुवात गरेका थियौँ । तर, ब्याटिङमा हामी फेरि चुक्यौँ । यो पिचमा २४० देखि २५० रनको लक्ष्य पूरा सकिन्थ्यो । यद्यपि हाम्रो ब्याटिङ निकै खराब रह्यो,’ खेल सकिएपछि वसिमले भने, ‘अब एकदिवसीय मान्यता जोगाउन हामी अर्को चरणमा पूरा कोसिस गर्नेछौँ ।’
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । उसका लागि आयान अफजल खानले २९, अश्वन्त वल्थापाले १४ र कार्तिक मयप्पनले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रनन जोड्न सकेनन् । नेपालका लागि ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले ७.३ ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिए ।