एजेन्सी – साउदी क्लब अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा मंगलबार राति अभा क्लब विरुद्धको खेलमा जित निकालेसँगै अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको हो।
मंगलबार राति भएको खेलमा अल नासरले अभा विरुद्ध बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गर्यो। बलमा घरेलु टोलीले कुल ५४ प्रतिशत नियन्त्रण राखेको थियो।
खेलभर अल नासरको तर्फबाट १७ प्रहार गरेको थियो। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए र ती मध्ये ३ प्रहार गोलमा परिणत भए। यस्तै पाहुना टोलीले भने खेलभर ११ प्रहार गरेको थियो। त्यसमा ४ प्रहार टार्गेटमा थिए। तर गोलमा भने एक प्रहार मात्रै परिणत भयो।
एमआरसुल पार्क रियादमा भएको खेलमा सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मेद मरनले गोल गर्न सफल भएका थिए। त्यस्तै पाहुना टोलीका लागि अभाका अब्देल फटाह एडामले गरेको गोल सान्त्वना बन्न पुग्यो।
खेलको पहिलो मिनेटमा नै सामी अल नाजेईले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले गोल गर्दा अल नासर २-० ले अगाडी रह्यो।
त्यस्तै अल नासरका लागि तेस्रो गोल मोहम्मेद मरनले गरे। उनले ४९औं मिनेटमा गोल गरेका थिए। खेलको ६९औं मिनेटमा अब्देल फटाह एडामले पाहुना टोलीका लागि पहिलो र एक मात्र गोल गरे।
मंगलबार राति अल नासरका तीन खेलाडीले गोल गरेपनि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन्। रोनाल्डोले गोल मात्र नभई असिस्ट पनि निकाल्न सकेनन्। रोनाल्डोलाई खेलको ८७ औं मिनेटमा मैदानबाट बाहिर बोलाइएको थियो।
रोनाल्डोले अल नसारका पछिल्ला ३ खेलमा गोल गर्न सकेका छैनन्। तर अल नासरका लागि उनले छोटो समयमै ८ गोल गरिसकेका छन्। यस बीचमा उनले २ असिस्ट पनि दिसकेका छन्।