एजेन्सी – अल नासरका प्रबन्धक रुडी गार्सियाले क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको बसाई पछि युरोप फर्किने बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा गार्सियाले रोनाल्डो पुनः युरोप फिर्ता हुने बताएका हुन्।
हालसालै पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्सियाले क्रिस्टियानो रोनाल्डो थपिनु आफूहरुका लागि सकारात्मक कुरा रहेको बताए। रोनाल्डोको आगमनले डिफेन्डरहरूलाई तितरबितर गर्न मद्दत मिलेको गार्सियाको भनाई छ। त्यसक्रममा उनले रोनाल्डो युरोप फर्किने, तर साउदीमै सन्यास नलिने बताउन पनि छुटाएनन्।
“क्रिस्टियानो रोनाल्डो एक सकारात्मक थप हुन्। किनकि उनले डिफेन्डरहरूलाई तितरबितर गर्न मद्दत गर्छन्। उनी विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनले अल नासरमा आफ्नो करियर समाप्त गर्दैनन्, उनी युरोप फर्कनेछन्।”,गार्सियाले भने।
रोनाल्डो लगभग एक महिना अगाडी मात्रै साउदी पुगेका हुन्। सन् २०२२ को अन्त्यमा साउदी क्लब अल नासरसँग सम्झौता गरेका उनी त्यसको केहि दिन पछि साउदी पुगेका थिए।
दुई खेल प्रतिबन्धका कारण साउदी पुग्ने बितिकै डेब्यू गर्न नपाएपनि उनले साउदी क्लब अल नासरका लागि दुई खेल खेलिसकेका छन्। तर रोनाल्डोले गोलको खाता भने खोल्न बाँकी नै छ।