काठमाडौं।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दुई विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले ३२ ओभरमो दोस्रो र तेस्रो बलमा हिरी हिरी र चाड सोपारलाई आउट गराएका हुन् ।
हिरी हिरीले १७ बलमा ८ रन बनाएका थिए । सोपार भने पहिलो बलमा नै आउट भएका हुन्। सन्दीप ह्याट्रिक लिनबाट भने चुकेका छन्। पीएनजीले अहिले ३४ ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको छ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९७ रन बनायो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। यसअघि २ फागुनमा लिग टू अन्तर्गत नै नामिवियाविरुद्धको खेलमा नेपाललले २८७ रन बनाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेले।
उनले १ सय १० बलमा १० चौका र २ छक्काको मद्दतमा सर्वाधिक १ सय १० रनको योगदान दिए। उनको एकदिवसीय करिअरको यो पहिलो शतक हो। आसिफ नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्का, हालका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए।
आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा पनि गरेका छन्। सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीविरुद्धको खेलबाटै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका आसिफले ३२ इनिङ्समा एक हजार रनको आँकडा पार गरेका हुन्।
आसिफले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा करिअरकै सर्वाधिक रन पनि बनाएका छन्। उनले यसअघि १४ सेप्टेम्बर २०२१ मा ओमानविरुद्ध उसकै मैदानमा ९० रनको पारी खेलेका थिए।
यस्तै, आज कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहितकुमार पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन जोडे। दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ७/७, करण केसी ८ र कुशल मल्ल २ रनमा आउट हुँदा सोमपाल कामी ४ रनमा अविजित रहे। पीएनजीका लागि सेमो कमियाले ५, राइली हेकुरेले ३ र अलेई नाओले १ विकेट लिए।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो। यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।
नेपाल र पीएनजीले यसअघि धेरै पटक खेलेका छन्। नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ । पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ।
मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ । नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।