काठमाडौं ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल पहल सुरु गर्ने भएको छ। क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरु पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए ।
आज सर्वाेच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ ।
पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)मा अनुमति माग्ने बताए । ‘हामी आजै आइसीसीमा पत्र पठाउछौं । उताबाट अनुमति आएपछि टिम म्यानेजरसँग सल्लाह गरेर निर्णय लिइन्छ,’ उनले भने । नेपालको टिम शनिबार यूएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले आज आफ्नो पहिलो म्याच पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।
विश्वकप छनोटमा नेपालको ‘ह्याट्रिक’ जित
आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको हो। सोमबार हङकङलाई ९ विकेटले हराउँदै नेपालले विश्वकप छनोटमा लगातार तेस्रो जित हात पारेको हो।
हङकङले दिएको १ सय २१ रनको सामान्य लक्ष्य नेपालले २२.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले। उनले ७२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक नटआउट ६४ रनको योगदान दिए।
जारी एसिया छनोट प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यस्तै, उत्तम थापा मगरले पनि शानदार पारी खेले। उनले ५० बलमा ४ चौकासहित अविजित ३९ रन जोड्दा अर्जुन कुमार १६ रनमा आउट भए। हङकङका लागि डेनियल मोर्गनले १ विकेट लिए।
त्यसअघि मलेक क्रिकेट मैदान, अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो। उसका लागि पार्थ भागवतले ३६, मोहम्मद आलियान जाहिरले २९ र अहान त्रिवेदीले अविजित ११ रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
नेपालका लागि हेमन्त धामी र सुवास भण्डारीले उत्कृष्ट बलिङ गरे। धामीले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चिएर ३ विकेट लिए। भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन दिँदै २ विकेट हात पारे। त्यस्तै, आकाश चन्दले पनि २ तथा दीपेश कँडेल १ विकेट झारे।
नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुरलाई ९६ तथा कुवेतलाई २४३ रनले पराजित गरेको थियो। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।
तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।