२२औं संस्करणको फिफा विश्वकप उपाधिका लागि आज (आईतबार) डिफेन्डिङ्ग च्याम्पियन फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ ।
कतारको दोहास्थित लुसेल आइकोनिक स्टेडियममा आज फिफा विश्वकप २०२२ को उपाधिका लागि हुने फाईनल खेलमा फ्रान्स र अर्जेन्टिना आमने सामने हुन लागेका हुन् । खेल नेपालीसमयानुसार राति ८ः४५ बजेबाट शुरु हुनेछ ।
बिहिबार बिहान भएको दोश्रो सेमिफाईनल खेलमा मोरक्कोमाथि २–० गोल अन्तरको जित निकाल्दै फ्रान्सले लगातार दोश्रोपटक फाईनलमा स्थान बनाएको हो ।
कतारको अल बायत स्टेडियममा बिहिबार बिहान भएको सेमिफाईनल खेलमा फ्रान्सलाई जित दिलाउन थिओ हर्नान्डेज् र रन्डाल कोलो मुआनीले एक एक गोल गरेका थिए ।
यस्तै बुधबार भएको पहिलो सेमिफाईनल खेलमा साविकको उपविजेता टोलि क्रोएशियामाथि ३–० गोल अन्तरको सहज निकाल्दै दक्षिण अमेरिकी राष्ट्रले फाईनलमा स्थान सुरक्षित गरेको थियो ।
आज फ्रान्स र अर्जेन्टिना १३औं पटक अन्तराष्ट्रिय खेलको लागि आमने सामने हुन लागेका हुन् । यसअघि भएको १२ खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ६ खेलमा जित हासिल गरेको थियो भने फ्रान्सले ३ खेल जितेको थियो । यी दुईबिचको ३ खेल बराबरी नतिजामा टुङ्गिएको थियो ।
यी दुईबिच पछिल्लोपटक चार वर्षअघि रसियामा भएको विश्वकपको राउण्ड अफ १६ मा भेट भएको थियो जसमा फ्रान्सले अर्जेन्टिनालाई प्रतिस्पर्धात्मक खेलमा ४–३ गोल अन्तरले पाखा लगाएको थियो ।
सम्भावित अन्तिम विश्वकप खेलिरहेका मेस्सी उपाधि जित्दै अन्तराष्ट्रिय करियरबाट बिदा हुने लक्ष्यमा रहनेछन् । मेस्सीले क्रोएशियालाई हराउँदै अर्जेन्टिना फाईनलमा पुगे लगतै आफ्नो अन्तिम विश्वकप खेल हुने घोषणा गरिसकेका छन् ।