काठमाडौं।
पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो ।७६ मिनेटमा पार्क सेन्होले गोल गर्दा कोरियाका लागि सान्त्वना मिलेको थियो।
ब्राजिलका नेइमारले कुर्कुच्चाको चोटका कारण कतार विश्वकप २०२२ नै गुमाउने चिन्ताका बीच मैदान फर्कन पाउँदा निकै खुशी भएको बताए ।सर्बियाविरुद्ध समूह चरणको पहिलो खेलमा कुर्कुच्चामा चोट लागे पछि नेइमार मैदान बाहिर रहँदै आएका थिए ।
चोटकै कारण उनले समूह चरणमा स्विट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाएका थिए ।लगातार दुई खेलम अनुपस्थित रहेसँगै नेइमारले विश्वकपका बाँकी खेल गुमाउने सम्भावना बढेको थियो । तर नेइमारले अन्तिम १६ अन्तर्गत सोमबार दक्षिण कोरियाविरुद्धको खेलसँगै मैदानमा पुनरागमन गरे ।
८१ मिनेट मैदानमा बिताएका नेइमारले ब्राजिलको ४-१ को सहज जितमा एक गोल समेत गरे । उनले १३औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गरेका थिए ।दक्षिण कोरियाविरुद्धको जित ब्राजिलले उपचाररत ब्राजिलका लिजेन्ड पेलेलाई समपर्ण गरेको थियो ।।
‘मलाई कतार विश्वकपका बाँकी सबै खेल गुमाउँछु भन्ने डर थियो,नेइमारले भने, मैलै धेरै दिन रोएर कटाए । तर चिकित्सक टोलीले मलाई स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेकाले मैदान फर्कन सक्छौ भन्दै मनोबल बढाउने काम गरे । त्यसका लागि उनीहरुप्रति आभारी छु । प्रशिक्षक र टोली सहयात्रीहरुले पनि निरन्तर हौसता बढाइरहे ।’
पाँच पटकको विश्व विजेता ब्राजिलले शुक्रबार हुने क्वार्टरफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।‘हाम्रो लक्ष्य उपाधि जित्नु हो र हामी त्यसमा सफल हुन्छौ भन्नेमा आशाबादी छु’, नेइमारले भने, ‘यो हामीले कतारमा खेलेको चौथो खेल थियो । उपाधिबाट अब हामी तीन खेल मात्र टाढा छौ ।’ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो ।