काठमाडौं ०८ भदौ / किंग्सले कोमानको एकमात्र निर्णायक गोलमा पेरिस सेन्ट जर्मन पिएसजीलाई एक शुन्यले हराउँदै जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग च्याम्पियन बनेको छ । बार्यनले च्याम्पियन्स लिगको उपाधि जितेको यो छैठौ पटक हो। पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजीको उपाधि जित्ने सपना यो पुरा हुन सकेन ।
पहिलो हाफमा दुवै टिमले गोल गर्ने अवसर चुकाए । १८ औ मिनेटमा पिएसजीका नेयमारको प्रयासलाई किपर नोएरले बचाए। २२ औ मिनेटमा बार्यन पनि चुक्यो। लेवान्डोस्की प्रहार पोस्टमालागि फर्कियो। लगत्तै काउन्टर अटयाकमा एमबाप्पे र नेयमारको सहयोगमा डी मारियाले ओपन चान्स मिस गरे।उनको प्रहार आकाशियो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
तर ५९ औ मिनेटमा बार्यनले अग्रता बनायो। किंग्सले कोमानले गोल गरे। जोशुवा किम्मिचको क्रसमा पिएसजीका पुर्व खेलाडी कोमानको क्लोज रेन्ज हेडरले जाली चुम्यो। लगत्तै कोमानको अग्रता दोब्बर बनाउने प्रयासलाई पिएसजीका कप्तान थियागो सिल्भाले गोल लाइनबाट बचाए।खेलमा फर्कन आतुर पिएसजीले केहि अवसर सिर्जना गर्यो। तर सफल हुन सकेन।
यसरी किंग्सले कोमानको गोल निर्णायक बन्यो र बार्यन च्याम्पियन बन्दै छैठौं पटक उपाधि उचाल्न सफल भयो। यसअघि बार्यनले क्वाटरफाइनलमा बार्सिलोनालाई ८-२ को लजास्पद हार चखाएको थियो भने सेमिफाइनलमा लियनलाई ३-० ले माथ दिएको थियो।