काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले लागूऔषध सात किलोभन्दा धेरै परिमाणको कोकिनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
७ किलो ८ सय ८७ ग्राम कोकिनसहित २ जना भारतीय महिलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको व्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरूमा भारत सर्चिप, मिजोरम ठेगाना भएकी ४५ वर्षीया भन्लाल्लवमी र २९ वर्षीया एस्थर लाललिम्पुई रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले ईन्डिगो एयरलाईन्सको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेकी भन्लाल्लवमीलाई विमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकिङ गर्ने क्रममा २ किलो ८ सय ८७ ग्राम कोकिन फेला पारी पक्राउ गरेको थियो ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित होटलबाट लाललिम्पुईलाई ५ किलोग्राम कोकिनसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
लागूऔषध व्यूरोले विगत ५/६ महिनामा ठूलो परिणाममा लागुऔषध बरामद गरेको छ । लागुऔषध कारोबारी र लागुऔषध वसारपसारमा संलग्न थुप्रै मानिसहरूलाई पक्राउ गरेर कारबाही गरिसकेको छ ।