काठमाडौँ । कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन्। उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्।
कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा। मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ। विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ।’
उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ। धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग।’
उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन्। उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’
‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन्। हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन्।