काठमाडौं । आफ्नै फुपुकी छोरीलाई दुर्व्यवहार गरेको आरोपमा कास्की प्रहरीले हिजो एक किशोरलाई पक्राउ गर्यो । ‘पीडित’ र आरोपी दुवै उमेरले नाबालिग हुन् । पक्राउ परेका किशोरलाई हिरासतमा राख्न जिल्ला अदालत कास्कीले ४ दिनको म्याद दिएको छ । बाल यौन दुर्व्यवहारको आरोपमा उनी अहिले जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा छन् ।
१४ वर्षीया एक बालिकाले आफूलाई मामाको छोरा (१६ वर्षीय) ले दुर्व्यवहार गरेको भन्दै भिडिओ बनाएकी थिइन् । उक्त भिडिओ भाइरल भएसँगै धेरैले उनका लागि न्यायको माग गरिरहेका छन् ।
मामाघरमा बस्दै आएकी बालिकाले भिडिओमा मामाको छोराले आफूलाई ‘अश्लिल’ नामले बोलाउने गरेको र संवेदनशील अंगमा छोएको कुरा लिखितरुपमा बताएकी छन् । यसले आफूलाई मानसिक रूपमा एकदमै विक्षिप्त बनाएको र आत्महत्या प्रयाससमेत गरेको उनको भनाइ छ । साथै आफूलाई मामाले फोन गरेर मार्ने धम्कीसमेत दिएको बालिकाले उल्लेख गरेकी छन् ।
यस विषयमा उनले हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले आरोपी बालकलाई तत्काल नियन्त्रणमा लिएको थियो । कास्की प्रहरी प्रमुख अजय केसीले आरोपी बालकलाई छुट्टै हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।
‘आरोपी बालबालिकालाई राख्नका लागि छुट्टै कक्ष हुन्छ । उनीहरुलाई अरुसँग राखिँदैन’, एसपी केसीले भने । कानुनअनुसार अनुसन्धान सकेपछि प्रहरीले राय प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने छ । सरकारी अदालतले अभियोग पत्र दर्ता गरेपछि बालअदालतले थुनछेक आदेश गर्नेछ ।
‘पीडित’ बालिका अहिले आफ्नै परिवारसँग छिन् । उनको मानसिक स्वास्थ्यलाई ध्यान दिएर प्रहरीले उनीसँग निरन्तर सम्पर्क र संवाद गरिरहेको स्रोतले बतायो । ‘हामीले कुराकानी गर्दा उनको अवस्था सामान्य नै छ’, प्रहरी स्रोतले भन्यो ।
कानूनमा के छ ?
मुद्दा पुर्पक्षका लागि फौजदारी आरोप लागेका बालबालिकालाई बालसुधार गृहसम्म पठाउन सकिने कानुनी व्यवस्था रहेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ अन्तर्गत खण्ड ‘ङ’ मा यौनदुर्व्यवहार सम्बन्धी सजायको व्यवस्था गरिएको छ ।
त्यसअनुसार यौनजन्य मनसायले शरीरका संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरु कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनशायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्यमा संलग्नलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन सक्छ । तर, दोषि यदि नाबालग भएमा सजाय कम हुन्छ ।
सोही ऐनको दफा ३६ को उपदफा ४ अनुसार दोषी व्यक्तिको उमेर १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम भएमा कानूनमा तोकिएको भन्दा आधा सजाय मात्र हुन्छ । यदि १६ वर्ष देखि १८ वर्षमुनिको भए दुई तिहाइ सजाय हुने व्यवस्था छ । यस घटनामा यदि आरोप प्रमाणित भएको खण्डमा बालकले दुई वर्ष सुधारगृहमा बस्नुपर्ने हुन सक्छ । यो भनेको अधिकतम सजाय हो ।
यस्तो थियो बालिकाले टिकटकमा पोखेको पीडाः
नमस्कार
आज म तपाईंहरुलाई मेरो समस्या सुनाउन गइरहेको छु । आशा छ सबैले बुझिदिनुहुनेछ ।
पहिला मेरो घरमा धेरै परिवारिक समस्याहरु थिए । जसका कारण म डिप्रेसनको शिकार बन्न पुगेँ । पछि डाक्टरलाई देखाउँदा उहाँले मलाई शान्त ठाउँमा बस्न सुझाव दिनुभयोे । डाक्टरले त्यस्तो गर्नुभएपछि मलाई मेरो मम्मीको भाई (मामा) र उहाँको श्रीमती (मेरी माइजु) ले उहाँहरुकै घर (मेरो मामाघर) मा बस्न भन्नुभयो । मैले घरमा यसबारे मम्मीसँग कुरा गरेँ । सुरुमा उहाँ मान्नुभएन । पछि उहाँ पनि तयार हुनुभयो किनकी त्यो समय मेरो घरको माहोल ठिक थिएन ।
म मामाघरमा बस्न गएँ । एकदिन अचानक मेरो दाई (मामाको छोरा) ले मेरो छेउमा आएर ‘तिम्रो … ठूलो–ठूलो छ त्यसैले म तिमीलाई ‘…’ भनेर बोलाउँछु’ भन्नुभयो । त्यो सुनेर मलाई नराम्रो लाग्यो । यो क्रम जारी रह्यो । यस्तै–यस्तै कुराहरुले मलाई दिन प्रतिदिन पहिलाको जस्तै बिरामी बनाउन थाल्यो ।
त्यसपछि मैले दिनदिनै मम्मीलाई फोन गर्न थालेँ । मलाई भेट्न आउनु भनेर बोलाउँथे । तर कामको व्यस्तताका कारण उहाँ आउन पाउनुभएन ।
यस्ता क्रियाकलापहरु भइरहे पनि मैले उसलाई मेरो दाई हो भनेर छाडिदिएँ । उसलाई सुध्रिन मौका दिनुपर्छ जस्तो लाग्थ्यो । उसलाई मैले कतिपटक त्यो नामले नबोलाउ भनेर अनुरोध पनि गरेँ । तर उसले मानेन । एकदिन घरमा कोही नभएको बेलामा उ मेरो छेउमा आयो र मेरो छातिमा छुन थाल्यो । अनि म त्यहाँबाट भागेँ । भोलिपल्ट पनि उसले मेरो शरीरमा छुन थाल्यो । मैले आफूलाई सम्हाल्न सकिनँ र आफ्नो नाडीमा काट्न थालेँ ।
आत्महत्याका सोचहरु पनि दिमागमा धेरै आए, तर डरले यस्तो प्रयास गर्न सकिनँ । म उसको आमाबुवा (मेरो मामा–माईजु) लाई पनि भन्न सक्दिन थिएँ । मैले भनेको भए पनि उहाँहरुले पत्याउनु हुन्नथियो । जहिल्यै मेरो छोरा यस्तो, मेरो छोरा उस्तो भनेर प्रशंसा गरिराख्ने उसको परिवारले मेरो कुरा विश्वास के गर्थे र ?
मेरो स्वास्थ्य स्थिति दिनदिनै बिग्रन थाल्यो । सहनै नसक्ने भएपछि म अस्पताल गएँ । मेरो त्यस्तो स्थिति देखेपछि मेरो मम्मी मेरो स्कुलको ड्रेस र अरु सामान लिन मामाघर जानुभयो ।
तर त्यहाँ पुग्दा मेरो माइजु र उनको छोरीले मेरो मम्मीलाई उल्टै गाली गरेर पठाउनुभयो । त्यही दिन मलाईसमेत मामाले फोन गरेर ‘तलाई जहाँ देख्छु, त्यहीँ मार्दिन्छु’ भनेर चेतावनी दिनुभयो । यस्ता कुराहरुले अहिले म केहीमा पनि ध्यान दिन सकिरहेको छैन । मेरो पढाई अनि मेरो मानसिक अवस्था दिनदिनै बिग्रिरहेको छ ।