काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अछाम–१ मा नेता भीम रावललाई छाडेर झपट बोहोरालाई टिकट दिएको छ ।
नेकपा माओवादी केन्द्र छोडेर एमालेमा भित्रिएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जसमेत हुन् । रावलसँग अनेक तिक्तता खेपेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सबक सिकाउन लागि पनि बोहोरलाई टिकट दिएको बताइएको छ ।
टिकट वितरणको अन्तिम जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ
। र, ओलीले अछाम १ मा बोहोरलाई नै टिकट दिने अन्तिम निर्णय गरिसकेका छन् ।
तर, उता अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले संसद् विघटन गर्दा रावल ओलीविरुद्ध खरो रुपमा उत्रिँदै माधवकुमार नेपाललाई साथ दिएका थिए । पछि नेपालले अलग्गै पार्टी खोले पनि रावलसहितका नेताहरु दशबुँदे समझदारी गरी एमालेमै फर्किका थिए ।
पछि एमालेको चितवनमा महाधिवेशनमा पनि सर्वसम्मतिमै पदाधिकारी टुंगो लगाउने भनिए पनि रावल अध्यक्षमा उम्मेदवारी बनेका थिए । अध्यक्षको उम्मेदवार बने पनि उनी ओलीसँग पराजित भएका थिए ।