काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छन् । शुक्रबार पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी हुन् ।
‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौं,’ मेयर शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’
पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण बिरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौं महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ ।
यसैगरी मेयर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् । केही समयअघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको र यस्तो काममा सहयोग गर्न अपिल गरेका हुन् ।
कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिए।
‘काठमाडौं उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ । यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनु भएका र स्वस्थ मानिसलाई प्जाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भनेका छन् ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधी त्यही हुन्छ ।’