प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ ।जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’
यसरी असामान्य रुपले छोटो अवधिमा महिनावारी दोहोरिनुलाई सामान्य मानिंदैन । यस्तो किन हुन्छ त ?
एउटा मात्र कारण छैन । विभिन्न कारणले एकै महिनामा महिनावारी दोहोरिन सक्छ ।
पाठेघरमा संक्रमण
ब्याक्टेरिया योनीबाट महिलाको अंगभित्र भएर पाठेघरमा संक्रमण हुन्छ, जसलाई पेल्वभक इन्फ्लामेटरी डिजिज (पीआइडी) भनिन्छ । यसमा योनी सुन्निने र दुख्ने हुन्छ । साथै यसमा अनियमित रक्तश्राव हुने गर्छ ।
हार्मोन डिसअर्डर
महिलाको शरीरमा हार्मोनको कारण महिनावारी गडबड हुने गर्छ । महिलाको डिम्बाशयले उत्पादन गर्ने हार्मोन इस्ट्रोजन, प्रोजेस्टेरोन वा टेस्टोस्टेरोनको घटबढका कारण पाठेघरको भित्री तह (इन्डोमेट्रियम)मा पर्ने प्रभावले गर्दा महिनामा दुई पटक रगत बग्ने हुन्छ । थाइराइड हार्मोन कम वा बढी भएमा पनि महिनावारी नियमित हुँदैन । जसले गर्दा महिनामा दुई पटक महिनावारीको समस्या देखिन्छ ।
पाठेघरमा ट्युमर पलाएमा
पाठेघरभित्र ट्युमर पलाएको अवस्थामा पनि महिनावारी अनियमित हुनसक्छ । यसलाई मेडिकल भाषामा ‘युटेराइन फाइब्राइड’ भनिन्छ । महिनावारीको बीचबीचमा रगत बग्ने, धेरै रक्तश्राव हुने गर्छ । त्यस्तै पाठेघरको मुखमा मासु पलाएमा अनियमित रक्तस्राव हुने गर्छ । शरीरमा इस्ट्रोजोन हार्मोन बढी भयो भने पाठेघरमा मासु पलाउन सक्छ ।
पीसीओडी (पोलिसिटिस्क ओभरियन डिजिज)
महिलाको डिम्बाशयले अनियमित हार्मोन उत्पादन गर्दा डिम्बहरु निष्कासन हुन गाह्रो हुन्छ । यस्तो परिस्थितिमा महिनावारी ढिला हुने वा बीच-बीचमा पाठेघरबाट रगत जाने हुन्छ । यो रोगले नि:सन्तान हुने जोखिम पनि बढाउँछ ।
गर्भावस्था
गर्भधारण गरेको २० हप्ताभित्र थोरै-थोरै रगत बग्न सक्छ । कसैको भने गर्भधारण हुने बखतमा हल्का रक्तस्राव हुन सक्छ, जसलाई ‘इम्प्लान्टेसन ब्लिडिङ’ भनिन्छ । प्रोजेस्टोरोन हार्मोनको अभाव भएमा, ब्लाइटेड ओभम (भ्रूणरहित गर्भ बस्दा), थ्रेटेन्ड एबोर्सन (गर्भावधिको सुरुवाततिर दखल पुग्दा) आदिमा पनि बीच समयमा रगत बग्न सक्छ । यसबेला आराम र औषधिको जरुरी हुन्छ ।
गर्भनिरोधक चक्कीको असर
नियमित रुपमा सेवन गर्नुपर्ने अस्थायी परिवार नियोजन चक्की बीचमा खान छुटेमा, पटक-पटक आपतकालीन गर्भनिरोधक चक्कीको सेवनले पनि महिनावारी गडबडी हुन्छ ।
रजोनिवृत्ति
महिलाहरूको मासिक चक्र (महिनावारी) रोकिनुलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ । महिलाको उमेर ४० वा ५० वर्ष पार भइसकेपछि महिनावारी रोकिन्छ । यसरी रजोनिवृत्ति हुने बेला महिनावारी गडबडी हुन जान्छ । कहिले पटक-पटक महिनावारी हुने त कहिले लामो समयसम्म महिनावारी रोकिने गर्छ ।
त्यस्तै महिनावारी अनियमित हुनुमा अर्को कारण हो, तनाव । अत्यधिक तनावबाट गुज्रिरहेको महिलाको पनि महिनावारी नियमित हुँदैन । त्यसैले महिनावारी गडबडी भएमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु जरुरी हुन्छ ।