काठमाडौं– ललिता निवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ। उक्त प्रकरणमा सीआईबीले जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सीआईबीले सोमबार उनको बयान लिएको हो। दिउँसो नै बयानका लागि बोलाइए पनि व्यस्त भएको जानकारीसहित आफूलाई फर्काइएको मन्त्री जोशीले सामाजिक सञ्जालमा लेखेका थिए।
जोशीले बयान लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तत: बोझबाट हलु्का भएको छु। सीआईबीसमक्ष बयान दिएर आइयो। सीआईबीलाई धन्यवाद। ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ। चाहिएको बेला सहयोगका लागि तत्पर छु।’पूर्वभूमिसुधारमन्त्री जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि प्रतिवादी थिए। त्यसबेला अदालत हाजिर भएर उनी तारेखमा छुटेका थिए।
ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले बयान लिएको हो ।ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २२ गते दायर गरेको मुद्दामा पनि गच्छदारलाई अभियुक्त बनाइएको छ । उनलाई ९ करोड ६५ को बिगो दाबी गरिएको थियो ।
कांग्रेसका पूर्व उपसभापति समेत रहेका गच्छदारसहित १ सय ७५ जनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । मुद्दा दायर भएपछि लुकेर बसेका गच्छदार सरकार परिवर्तन भएपछि विशेष अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले २०७८ असार ३० मा १० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।
गच्छादार उपप्रधान तथा भौतिक योजना मन्त्री हुँदा नक्कली मोही खडा गरिएको प्रस्ताव मन्त्रिपरिषदमा लगेको अभियोग छ । त्यस समयमा दीप बस्न्यात सो मन्त्रालयका सचिव थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका बस्न्यातविरुद्ध पनि विशेष अदालतमा मुद्दा छ । उनीहरुले तयार पारेको प्रस्तावमा राजकुलो, बाटो र समरजंग कम्पनीलाई जग्गा दिने भन्ने उल्लेख थियो ।उनीहरुले तयार पारेको प्रस्ताव क्षेत्राधिकार भन्दा बाहिर भएको अख्तियारको ठहर छ । सीआइबीले सोमबार पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको थियो । आईतबार राति पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईको पनि बयान कागज गराएको थियो ।