कास्की । बालिकालाई प्रलोभन देखाएर चिनियाँ नागरिकसँग विवाह गरिदिएको आरोपमा दुई महिलासहित तीनजना पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार पक्राउ परेका दुई महिलाले बालिका मिलाइदिएबापत चिनियाँ नागरिकसँग रकम लिएको खुलेको छ । लमजुङ घर भई पोखरा–१६ बस्ने २२ वर्षीय सरु बिक र पोखरा–२२ आर्वाकी ३४ वर्षीय भगवती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूसँगै चीनको हुनान प्रान्तका ३१ वर्षीय झी मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखरा–६ स्थित एक गेस्ट हाउसमा बस्दै आएका थिए ।
पक्राउ परेका दुई महिलाले एक १४ वर्षीय बालिकालाई फकाएर ती चिनियाँ नागरिकसँग विवाह गरिदिएका थिए ।
प्रहरीका अनुसार प्रलोभनमा परेकी बालिकालाई उनीहरूले साउन १३ गते चिनियाा नागरिकसँग विवाह गराइदिएका थिए । विवाहपछि ती चिनियाँ नागरिकले बालिकालाई अर्को होटलमा नै बन्धक बनाएर राखेका थिए ।
बालिका त्यहाँबाट भागेपछि मात्र घटना सार्वजनिक भएको कास्की प्रहरीले जनाएको छ । पीडित बालिकाका अभिभावकसँगको समन्वयमा उनको उद्धार गरिएको थियो ।
उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याथ थपेर अनुसन्धान थालिएको छ ।