काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकिङ्ग कसुरको २ वटा मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे बेखसिमल स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका बिरौटा बस्दै आएका कुमार थापा भन्ने बिजय थापा र उनका सहयोगी सोही ठेगानाका मिना दमाईलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले पोखराका एकजना व्यक्तिलाई पनि जग्गा खरिद गरे बापत रकम नभएको २ करोड रुपैयाँको चेक दिएपछि प्रहरीमा बैकिङ्ग कसुर मुद्दा दर्ता गराएका थिए । थापा समुहले उनिहरुबाट केही परिमाण सुन पनि ठगी गरि लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन कुमार थापाले बताउनुभयो ।
लामो समयदेखि विभिन्न स्थानमा लुकेर बस्दै आएका थापालाइ मुद्दा दर्ता गराएका समुहले काठमाडौबाट नियन्त्रणमा लिएर कास्की प्रहरीको जिम्मा लगाएका थिए । सोही समूहले चितवन रत्ननगर नगरपालिका– ११ बस्ने बिन्दु न्यौपानेलाई पनि ३ कठ्ठा जग्गा खरिद गरेपछि रकम नभएको ७५ लाखको चेक दिएर ठगी गरेका थिए ।
पीडित बिन्दु न्यौपानेले कुमार थापाविरुद्ध चितवन प्रहरी कार्यालयमा ६ महिना अगाडि नै बैकिङ्ग कसुर मुद्दा दर्ता गराए पछि कुमार थापाको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पोखरा प्रहरिले पक्राउ गरेका कुमार थापालाइ बैकिङ्ग कसुर मुद्दामा चितवन प्रहरीले खोजी गर्दै आइरहेको थियो ।
थापालाई चितवनमा ल्याएर थप कारवाही प्रकृया अगाडि बढाइने चितवन जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले बताउनुभयो । समुहका अन्य सदस्यहरुको खोजी भैरहेको कास्की प्रहरीले जनाएको छ ।