यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एकहजार ४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर एकहजार ४३८ मेगावाट पुगेको रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड एकहजार ३०५ मेगावाट थियो ।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमान्ड एकहजार ३५७ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।
प्राधिरकरणले लक्ष्मी पूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहहरूबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ ।
गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एकहजार ९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड एकहजार ७११ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरूको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उन गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।