काठमाडौँ, कार्तिक २० । काठमाडौँबाट नक्कली नोट र नोट छाप्ने फोटोकपी मेसिनसहित काठमाडौंबाट एक जना युवक पक्राउ परेका छन् ।
प्रहरीले आईतबार राति काठमाडौँ महानगरपालिका-६ सरस्वती नगरबाट महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरुङलाई पक्राउ गरेको हो ।
नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रुपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसीको बट्टा ४ थान बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।