६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
योसँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ।सोमबार दिउँसो सिआइबी कार्यालयमा बोलाएर उनीसँग तीन घण्टा बढी बयान लिएको उच्च स्रोतले जानकारी दियो।
६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ। प्रहरीले दावा छिरिङसँगको संवाद, उनी पुगेका ठाउँहरू पत्ता लगाइसकेको छ। दिपेश पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव पनि हुन्।
अहिलेसम्म प्रहरीले यस प्रकरणमा २७ जनालाई पक्राउ गरेको छ।यसअघि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको पनि ६० किलो सुन प्रकरणमा संलग्नता रहेको सिआइबीको अनुसन्धानमा देखिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकको पनि यसमा संलग्नता रहेको स्रोतले बतायो। प्रतीक अहिले फरार छन्।