काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरु समेतको संलग्नता देखिएसँगै नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) ले सुनका मालिक र तस्करीको सञ्जाल पहिचान गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुन आयातको उद्गम बिन्दु इन्टरपोल हङ्कङ र तस्करीको सुन पुग्ने गन्तब्य अनि खरिदकर्ताको पहिचानका लागि इन्टरपोल भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। अनुसन्धान गरिरहेको सीआईबीले सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको खुलेपछि इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरेको प्रहरीले सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी भरिया हुँदै सुनका मालिकसम्म पुग्ने गरि अनुसन्धानमा जुटेको छ । यसैका लगि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ । ती कम्पनीले ‘ब्रेक सु’का अतिरिक्त घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको खुलेको हो ।
विभिन्न मितिमा दर्ता भएका फरकफरक ती कम्पनीका मालिक पनि फरकफरक देखाइएको छ । सीआईबी स्रोतका अनुसार विकेन्द्र भुजेल, रामकुमार भुजेल, लेखनाथ कार्की डोली, रामबहादुर भुजेल, दिलीप भुजेललगायतका नाममा सातवटा कम्पनी खोलेर सुन तस्करी गरिएको पाइएको छ । कार्कीका नाममा खोलिएको चुङ्गक इलेक्ट्रिक सप्लायर्स कम्पनीले विद्युतीय सामानसँगै सुन तस्करी गरेको स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार उक्त कम्पनीको ठेगाना काठमाडौँको बौद्ध राखिएको भए पनि त्यहाँ कार्यालय फेला परेको छैन । भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिको ठेगाना सुकेधारा राखिएको छ तर त्यहाँ कार्यालय छैन । वादा इलेक्ट्रिक सप्लायर्स कम्पनी सामाखुसीमा र पवाटी इलेक्ट्रिक सप्लायर्सको कार्यालय बाँसबारीमा देखाइएको छ । दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिले विद्युतीय सामान, ब्रेक प्याड र घडीमा तस्करीको सुन राखेर ल्याउने गरेको पाइएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।