काठमाडौ । ललितपुर ठेचोकी सुजा (परिवर्तित नाम) ०६१ सालमा प्रेमविवाह भयो, ०६३ सालमा छोरी जन्मिइन् । श्रीमान् जाँडरक्सीको कुलतमा रहेकाले छोरीसहित परिवार पाल्नुपर्ने जिम्मेवारी उनकै थियो । छोरी जन्मिएपछि दुई वर्ष गलैंचा बनाउने काममा लागिन् । उता, श्रीमान्ले ०६५ मा अर्को विवाह गरे । प्रेमपूर्वक श्रीमान्सँग गएकी सुजा बाध्य भएर माइती फर्किन् ।माइतीले साढे दुई आना जग्गामा बनेको तीन कोठाको घर सुजाकै नाममा गरिदिए । छोरी हुर्काउँदै घरको एउटा सटरमा चिया पसल खोलिन् । ससुरा बिरामी भएपछि उनको स्याहार गर्ने मान्छे खोज्दै श्रीमान् आए, उनले सुजालाई फकाइफुल्याई गरे । बाँकी श्रीमान् र कान्छी श्रीमतीको घरजम एक वर्षमा टुटिसकेको थियो, त्यसैले सुजाले पनि पतिलाई ‘माफी’ दिइन् ।
उपचार खर्च नभएपछि दाइ पर्ने छिमेकी सुर्जमान मालीसँग ५० हजार रुपैयाँ सापटी मागिन् । उनले मासिक पाँच हजार ब्याज दिने मौखिक सर्त थियो । एक महिनापछि स्वावलम्बन लघुवित्तबाट ५० हजार ऋण लिएर थपथाप गरी सुर्जमानलाई ५५ हजार रुपैयाँ फर्काइन् । सुर्जमानको ऋणबाट मुक्ति पाए पनि लघुवित्तमा ब्याज थपिँदै थियो । ससुराको हेरचाहमा लागेपछि चियापसल बन्द भयो । अन्य आयस्रोत थिएन । लघुवित्तबाट ऋण लिएको ५० हजारमा ब्याज थपिएर ७० हजार पुगेको थियो । ऋणबाट मुक्ति पाउन उनले फेरि सुर्जमानबाटै ७० हजार लिएर लघुवित्तमा तिरिन् । सुर्जमानको ब्याज दर पुरानै थियो– १० हजारको मासिक १ हजार १ । यो दरले ७० हजारको सात हजार मासिक ब्याज पर्थ्यो ।
झन्डै ६ वर्ष बित्दासम्म उनले कसै गरेर चुक्ता गर्न नसक्ने भएपछि माइती गएर आमालाई गुहारिन् । त्यतिन्जेल ऋणको ब्याज थपिएर सुर्जमानलाई तिर्नुपर्ने ५ लाख पुगेको थियो । ‘आमाले भर्खरै जग्गा बेचेर पैसा जुटाउनुभएको थियो, पाँच लाख दिएपछि सुर्जमानको ऋण चुक्ता गरें,’ उनले सुनाइन् । तत्कालका लागि ऋणबाट मुक्ति मिले पनि घरव्यवहार चलाउन समस्या थियो । जाँडरक्सीको कुलतमा फसेका श्रीमान् ०७५ सालमा गम्भीर बिरामी भए । अस्पताल पुर्याएर उनले फेरि सुर्जमानसँग ऋण मागिन् । पाँच लाखको ब्याज मासिक ५० हजार । वर्षमा ६ लाख ।
श्रीमान्ले कुलत छाडेनन्, सुजालाई ऋण र ब्याजले गाँज्दै लग्यो । सुर्जमानले ताकेता गर्न थालेपछि दुई महिनाको ब्याज एक लाख तिरिन् । साँवा घटाउने उद्देश्यले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर फेरि दुई लाख रुपैयाँ थमाइन् । सुर्जमानले सावाँ नभई ब्याजमात्रै कटाएछन् । अब उनी सुर्जमानको ऋणबाट मुक्त हुन चाहन्थिन् । आयस्रोत नभएकी उनले भाखा मागिरहेकी हुन्थिन् । ऋण तिर्न नसक्ने भएपछि सुर्जमान एक दिन सुजाको घर आइपुगे र आफूसँग यौनसम्पर्क गर्नुपर्ने, सोबापत ब्याज घटाइदिने प्रस्ताव राखे । आफन्त दाइ मानेको व्यक्तिबाटै आएको प्रस्तावले भित्रभित्रै आक्रोशित भए पनि उनले तत्काल प्रतिक्रिया दिन सकिनन् । ‘सोचेर मलाई खबर गर’ भन्दै घरबाट निस्किए । तीन दिनपछि फेरि आइपुगेर ‘यौनसम्पर्क गर्न तयार हुनुपर्ने, अन्यथा तुरुन्तै ब्याज तिर्नु’ भनी धम्क्याए । भोलिपल्ट उसैगरी धम्क्याए । जबर्जस्ती हात तानेर आफ्नो मोटरसाइकलमा राखेर ललितपुरको पाटन अस्पताल अगाडि गेस्ट हाउसको कोठामा पुर्याए, बन्द कोठाभित्र सुर्जमानले बलात्कार गरेको उनले बताइन् ।
यातना यतिमै रोकिएन, आधा घण्टापछि उनले आफूलाई यौन सन्तुष्टि नमिलेकाले ब्याज कटौती नहुने भन्दै फेरि धम्क्याए । ‘मेरा अरू साथीसँग पनि यौनसम्पर्क राख्नुपर्छ, उनीहरू सन्तुष्ट नभए ब्याज घट्दैन भन्दै ब्ल्याकमेलिङ गर्न थाल्यो,’ आँखाभरि आँसु पार्दै सुजाले सुनाइन् ।
दुई महिनापछि सुर्जमानले साथीकहाँ धापाखेल जाने काम परेको भन्दै लिन आए । मोटरसाइकलमा राखेर धापाखेलको मासु पसल पुर्याए र अर्को मान्छेसँग यौनसम्पर्क गर्न बाध्य बनाए । त्यहाँ सुजा उमेश शाही नाम गरेको मान्छेबाट पनि उनी बलात्कृत भइन् । घटनाको एक सातापछि सुर्जमानले फोन गरेर आफ्नो किराना पसलका लागि तरकारी लिन जानुपर्ने कुरा गरे । सुर्जमानले मोटरसाइकलमा राखेर तरकारी बजार लगे । ‘तैंले अरू मान्छेलाई पनि खुसी पार्नुपर्छ, सावाँ, ब्याज सबै मिनाहा हुन्छ’ भन्दै धम्क्याए । यसको दुई महिनापछि सुर्जमानले फेरि बोलाए । सुजाले नजाने अडान लिइन । तर, अहिलेसम्म भएका यौनसम्बन्धबारे हल्लाखल्ला गरिदिने भन्दै सुर्जमानले ‘ब्ल्याकमेल’ सुरु गरे । घरबाटै उनले मोटरसाइकलमा राखेर धापाखेलस्थित उमेश शाहीको मासु पसल अगाडि सैलुनमा पुर्याए । सुर्जमानले कपाल काट्ने बहाना बनाए । सुजालाई शैलुन पछाडिको कोठामा बस्न भने । केहीबेरमा नचिनेको मान्छे छिरे र उनीमाथि जबर्जस्ती गर्न थाले । ढोका बाहिरको चुकुल लगाइएको रहेछ । उनी त्यहाँ पनि बलात्कृत भइन् ।
एक रात सुर्जमान रक्सीले मात्तिँदै घरैमा आए । वडा कार्यालयमा गई पाँच लाख रुपैयाँ ऋण चुक्ता गर्नुपर्नेमा ५५ लाख भनेर तमसुक गरिदिनुपर्ने नत्र छोरीलाई समेत बलात्कार गर्ने धम्की दिए । छोरीको सुरक्षाकै लागि भोलिपल्ट वडा कार्यालय गएर उनले सोहीअनुसारको तमसुकमा हस्ताक्षर गरिन् । त्यसअघि वडासचिव र अध्यक्षले हस्ताक्षर नगर्न सचेत गराएका थिए । ‘म कस्तो परिबन्दमा छु भन्नै सकिनँ, त्यहाँ एक जना महिला कर्मचारी भएको भए सबै बाध्यता भन्न सक्थें होला,’ उनले भनिन्, ‘छोरीको नराम्रो नहोस् भनेर ५५ लाखको तमसुकमा साइन गरिदिए ।’
वडामा तमसुक बनाएको एक महिनापछि सुर्जमानले राति ९ बजेतिर फोन गरेर ‘घर आऊ, त्यो ५५ लाख रुपैयाँको तमसुक च्यातिदिन्छु’ भन्दै बोलाए । सुर्जमानका दाइ धर्मलालको घर ठेचोमा बन्दै थियो । त्यहां पुग्नेबित्तिकै सुर्जमानले एउटा अँध्यारो कोठातिर घचेटे । ‘मान्छेहरू चिनिनँ, दीपक भनेर बोलाएको सुनें, त्यहाँ पनि दुई जनाले मलाई बलात्कार गरे,’ उनले सुनाइन्, ‘मेरो सबै विश्वास टुट्यो । मलाई बलात्कार गर्यो, गरायो । तर, ऋणब्याज मिनाहा भएन ।’
अब सुर्जमानको ध्यान सुजाको शरीरमा मात्र थिएन, उनलाई माइतीले दिएको घरमा पनि थियो । पहिले बलपूर्वक गरेको कागजलाई उनले हतियार बनाए । ६५ लाख रुपैयाँ बैना लिएर पनि जग्गा नामसारी नगरिदिएको भन्दै ०७६ भदौ १७ मा ललितपुर जिल्ला अदालतमा सुजाविरुद्ध मुद्दा हाले । जिल्ला अदालतबाट पत्र आएपछि मात्रै झसंग भइन् । उनले जानकारी पाउँदा मुद्दा हालेको तीन महिना भइसकेको थियो । उनले गर्दै नगरेको बैनाको नक्कली कागजात खडा गरेर मुद्दा हालेको उनले थाहा पाइन् । उनी वकिलकहाँ पुगिन् । वकिलले मुद्दाका लागि सुरुमै ५० हजार लाग्ने बताए । ‘पैसाको कुरा भएपछि म फनक्कै फर्किएँ, अरू केही कुरा गरिनँ, मसंग तिर्ने क्षमता थिएन,’ उनी भन्छिन् । उनले अदालती प्रक्रियालाई वास्तै गरिनन्, जिल्ला अदालतलाई प्रतिउत्तर पनि पठाइनन् । सुर्जमानले उनलाई मुद्दा फिर्ता लिने आश्वासन दिँदै मिलापत्रको कागजात बनाउने आश्वासन दिए । त्यसमा हस्ताक्षर गर्न भन्दै एक बिहान ललितपुरको बटुक भैरव अगाडिको रेस्टुरेन्टमा लगे । त्यहाँ भेला भएका मान्छेले खाली कागजातमा हस्ताक्षर र ल्याप्चे लगाउन लगाए ।
तर त्यही कागजका आधारमा जिल्ला अदालत ललितपुरले फैसला सुनायो– सुर्जमानका लागि सुजाबाट ब्याजसहित ८० लाख ८२ हजार २ सय २७ रुपैयाँ तिराउनु । यता, सुजाले यो फैसला पनि थाहै पाइनन् । ०७८ कात्तिक २३ गते उनको घरजग्गा लिलामी भयो । लिलामी हुँदा घरजग्गाको मूल्य ७९ लाख तोकिएको थियो । सुजाको घरजग्गा लिलामीमार्फत सुर्जमानले हडपे ।
सुर्जमानलाई ब्याजसहित ८० लाख ८२ हजार २ सय २७ रुपैयाँ तिर्नुपर्नेमा घर र जग्गाको मूल्य ७९ लाख चुक्ता भए पनि असुल हुन बाँकी भनेर एक लाख ८२ हजार २ सय २७ ‘असुलउपर गरी प्रतिवादीबाट भराइपाउँ’ भन्दै सुर्जमानले ०७८ मंसिर ९ मा निवेदन दिएका छन् । वडा कार्यालयमा गएर ५५ लाखको तमसुक गरिदिएदेखि नै छरछिमेकी, आफन्तले सुजाको इज्जतमाथि शंका गर्न थालेका थिए । ‘सुर्जमानसँग केही न केही सम्बन्ध नभईकन ५५ लाखको तमसुकमा कसरी हस्ताक्षर गरिस् भन्थे, मैले ५ लाखको सट्टा ममाथि बलात्कार भएको छ भनेर भन्न सकिन,’ भन्छिन्, ‘मेरो दुःख देखेर दिनरात रोएर आमा बित्नुभयो । मैले पनि घरपरिवारको इज्जत जान्छ भनेर सबै कुरा भनिन । एक दिन मर्न भनेर चोभार पुगेको थिएँ । तर म मरेको कारण कसलाई थाहा हुन्छ, बरु मुद्दा लडें भने सबैलाई थाहा हुन्छ, अरू कोहीलाई यस्तो विपत् नपरोस् भनेर बल्ल बोल्न थालेकी हुँ ।’
यसैबीच दिदीले फोन गरेर मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न संघर्ष समिति बनेको बताइन्, समितिका बसन्त जैसीको नम्बर दिइन् । जैसी र समितिका अरू मान्छेका कुरा सुनेपछि सुजाको हिम्मत पनि बढ्यो । आफूमाथि भएको ज्यादतीबारे सुजाले शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर जानकारी गराएकी थिइन् । गृहमन्त्रीले भनेका थिए, ‘तपाईंको घरजग्गा फिर्ता गराउने र यौन शोषणविरुद्धको न्यायिक प्रक्रियामा हामी साथमा छौं । अपराधीलाई कुनै पनि मूल्यमा छोडिने छैन ।’ गृहमन्त्रीले भनेजस्तै सुजाको यौन शोषण गर्ने र घरजग्गा लिलाम गरेर हडप्ने सुर्जमान मालीलाई शुक्रबार बेलुकी ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार सुर्जमानबाट पहिलो चरणमा सुजाको घर फिर्ता गराइदिने प्रयास हुनेछ । ‘मिटरब्याज सहजीकरण समितिमार्फत किर्ते कागज बनाएर घर लिलाम गराउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यस्तै ऊमाथि बलात्कारको मुद्दा पनि लाग्छ, प्रारम्भिक अनुसन्धानअनुसार ऊ जेल जाने देखिन्छ ।’
जस्तोसुकै स्थितिमा पनि मिटरब्याजसम्बन्धी अनुसन्धान नरोकिने गृहमन्त्री श्रेष्ठले बताए । ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग बनाएर कानुन पनि ल्याइसकेको स्थिति छ । प्रमुख जिल्ला अधिकारीको कार्यालयअन्तर्गत सहजीकरण समितिले देशव्यापी काम गरिरहेको छ । थुप्रैको घर, जग्गा, सम्पत्ति र पैसा फिर्ता गरिएको छ,’ उनले भने, ‘यो भनेको पहिला कागज गराइएका, घरजग्गा रजिस्ट्रेसन गरिएकालाई फर्काइएको हो ।’ पीडितलाई न्याय दिलाउन आयोगमा दर्ता भएको उजुरीका आधारमा कारबाही अघि बढ्ने उनको भनाइ छ ।