काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन काण्डमा अझैसम्म काखी च्यापिरहेको छ ।
सर्वत्र आलोचित हुँदा पनि महरालाई पार्टी नेतृत्वले नै बचाई राखेको छ । महरामाथि छानबिनको माग हुँदा समेत कानमा तेल हालेर बसेको माओवादीले महारामाथि न त खण्डन गरेको छ,न कारबाही नै । बरु माओवादीले भदौको दोस्रो सातादेखि तीन महिने घरदैलो अभियान सञ्चालन गर्दै छ ।
सत्ताको नेतृत्वकर्ता भए पनि जनतामा सकारात्मक प्रभाव पार्न नसकेको निष्कर्षका साथ माओवादीले अब सरकार र पार्टी दुवैमा रूपान्तरण गर्ने सङ्कल्प लिएको छ । तर आफ्नै जिम्मेवार नेतामाथि गम्भीर आरोप लाग्दासमेत पार्टीमा बहसको विषय बनेको छैन ।
तर सरकारको नेतृत्वसमेत गरिरहेको पार्टीले आफ्नै नेतामाथि सुन तस्करीको गम्भीर आरोप लाग्दासमेत कुनै कारबाही गर्न सकेको छैन ।
महरा माओवादीमा सधैँ पद पाइरहने नेतामा पर्छन् । उनी २०४८ को निर्वाचनमा रोल्पाबाट निर्वाचित भए । दश वर्षे युद्धमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका उनी शान्ति प्रक्रियामा आउनुअघि वार्ता टोलीका संयोजक बने ।
उनी अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भई अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री बने । संविधानसभाको पहिलो निर्वाचनमा दाङबाट विजयी भएका उनी पार्टी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पुनः सूचना तथा सञ्चार मन्त्री र २०६७ मा उपप्रधानसहित गृहमन्त्रीसम्म बने ।
२०७३ मा उपप्रधान तथा अर्थमन्त्री र २०७४ पछि सभामुख बने । सभामुखमा रहँदा यौन दुराचारको आरोपमा जेल परे पनि पार्टीले उनलाई कारबाही गरेन । त्यसअघि पनि महरा चिनियाँसँग ५० करोड रुपैयाँ मागेको टेलिफोन प्रकरणमा मुछिएका थिए, तर उनीमाथि कुनै कारबाही भएन ।
आठौँ महाधिवेशनपछि उपाध्यक्ष बनेका महरालाई पटक पटक विवादमा पर्दा पनि माओवादीले महत्त्वपूर्ण जिम्मेवारी दिँदै आएको छ। पटक पटक विभिन्न काण्डमा मुछिएकालाई नेतृत्वले सधैँ काखी च्यापेपछि पार्टीमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ । अहिले उनलाई पार्टी एकता र समाजवादी मोर्चा हेर्ने महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ ।