शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षकी आमा शारदा भण्डारीको आज हत्या गरेको सल्यान प्रहरीले जनाएको छ ।नवीनले २ दिन अघिदेखि नै आफूलाई देवता चढेको भन्दै आएको उनका बाबुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।विभिन्न धार्मिक तन्त्रमन्त्र जप्दै नवीनले कोठामै रहेको पैयाँको लठ्ठीले आमाको टाउको अन्धाधुन्ध प्रहार गर्दा मृत्यु भएको हो ।
सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार नवीन आफूलाई देउता चढेको भन्दै बिहान ४ बजे बुवाआमा सुतेको कोठामा काँप्दै प्रवेश गरेका थिए ।
आमाको हत्या गरेका नवीनलाई बिहान ६ बजे प्रहरीले पक्राउ गरिसकेको छ ।
इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।
राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान् फरार रहेको प्रहरीको भनाइ छ । के कसरी घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ । रासस