काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेपछि उनको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेका समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नराख्ने भएपछि उनको सांसद पद खारेज भएको छ।
उनको सांसद पद गएसँगै उनको ठाउँमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो।
समितिले सांसद श्रेष्ठको अडियोसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति लामिछानेलाई बुझाएको थियो।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आजै श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका थिए।
उनले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप समेत लगाएका थिए। उनले आफू यसविरुद्ध न्यायालय पुगेर क्लिन चिट पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने दाबी पनि गरेका थिए।
समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए। उनी एसिड आक्रमण पीडित समेत हुन्।