विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको छ।
बुधबार साँझ विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा सवार दुई जनाबीच आकाशमै झगडा भएको थियो। झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन्।
सँगैको सिटमा बसेका उनीहरूले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको थियो।
ती दुबै जनामाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा पठाएको कार्यालयका एसएसपी लालमणि आचार्यले जानकारी दिए।
‘उनीहरू चिनजानकै व्यक्तिहरू हुन्। सामान्य झगडामा त आफैं मिलाउने पनि काम गरिन्थ्यो। यसमा नियन्त्रणमा लिएर बुझाएको छ। यहाँबाट मुद्दा नचल्ने भएकाले गौशाला पठाएका छौं,’ उनले भने।
उनीहरूबीच आर्थिक लेनदेन भएको र केही विषयमा कुरा नमिल्दा जहाजभित्रै झगडा भएको हुनसक्ने उनले बताए।
जहाजमा झगडा भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ।
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुधबार नै बुझाएको बताए।
‘उहाँहरूबीच के विषयमा झगडा भएको थाहा भएन। तर जहाजमा झगडा गर्न पाइन्न। झगडा गरेको देखिएपछि कारबाही गर्न पठायौं,’ उनले भने।
उनीहरूलाई कुन कसूरमा अनुसन्धान अघि बढाउनेबारे प्रहरीले अध्ययन गरिरहेको छ।