चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भएको बताएका हुन्।
चितवन क्षेत्र नम्बर-२ को उपनिर्वाचनको तयारीका क्रममा मतदाताहरुसँग उनले भने, ‘म मुद्दा लड्न डराउँदिन, यी षडयन्त्रहरूबाट निस्कन सक्ने साहस भने मलाई दिनुस्।’
उनले आफूविरुद्ध विदेशमा गएर मुद्दा हाले पनि नडराउने र अबको ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बनाउने समेत घोषणा गरे।
यो पनि, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो ।
लामिछानेविरुद्ध कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग गर्दै रिट दायर भएको थियो ।
युवराज सफलले उनीमाथि किर्ते राहदानीमा मुद्दा चल्नुपर्ने दाबीसहित रिट दायर गरेका थिए। न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो ।
उनको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्न भनेपछि मंगलबारको सुनुवाइ सरेको छ । अब अर्को पेसी तोकिने छ। वैशाख १० गते चितवनमा हुन लागेको उप–निर्वाचनलाई लक्षित गर्दै रिट सर्वोच्चमा दायर गरिएको थियो ।
लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो ।
यो सँगै उहाँ सांसद पद र नागरिकता विहीन हुनुभएको थियो । सर्वोच्चको उक्त फैसलालगत्तै उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नागरिकता लिनुभएको थियो ।