लगातार दोस्रो वर्ष पनि च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का थुप्रै खेलाडीको भविष्य अनिश्चित रहेको भनिएपनि ब्राजिलियन स्टार नेयमार जुनियरको चाहना भने पेरिस मै आफ्नो करियरको समाप्ति गर्ने रहेको विभिन्न रिपोर्टले दाबी गरेका छन्।
सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियनमा बार्सिलोनाबाट पीएसजी ट्रान्सफर भएदेखि ३१ वर्षीय स्टार क्लबका लागि ४ लिग उपाधि सहित अनेक ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्। तर पछिल्लो केही समय भने पूर्व बार्सिलोना स्टारका लागि निकै खराब बनेको छ। गत हप्ता, दोहामा आवश्यक खुट्टाको शल्यक्रिया पछि उनी जारी सिजनको बाँकी समय मैदानबाट बाहिरिएका थिए।
यसका साथै पीएसजी पनि गत हप्ता जर्मन क्लब बार्यन म्युनिखसँग समग्रमा ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको थियो। गत सिजन पनि पीएसजी रियल म्याड्रिडसँग अन्तिम १६ बाट बाहिरिएको थियो।
पीएसजीको प्रमुख लक्ष्य रहेको च्याम्पियन्स लिग जित्नका लागि मैदान तथा मैदान बाहिर रहेको अनेक समस्याको समाधान अत्यावश्यक रहेको हुँदा क्लबमा विभिन्न परिवर्तन चाहिने हुँदा पनि एथलेटिक रिपोर्टका अनुसार नेयमार भने कुनै पनि हालतमा लिग १ विजेता छाड्ने मुडमा छैनन्।
सिजनको अन्तिममा पीएसजी ब्राजिलियन स्टारलाई बेच्न तयार रहेको खबरको बीचमा गत महिनाको चोटका कारण बाँकी सिजन गुमाउने पुष्टि भएसँगै उनले पीएसजीको जर्सीमा आफ्नो अन्तिम खेल खेलिसकेको हुनसक्ने धेरैले अनुमान लगाउन थालेका छन्। तर उनको पार्क डेस प्रिन्सेस छाड्ने मनशाय नभएको बताइएको छ।
२०२० मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजीलाई एक कदम अघि लाग्दै च्याम्पियन बनाउने सपनाका साथ पूर्व बार्सिलोना विंगर पेरिस मै बस्ने निर्णय गरेको बुझिएको छ। नेयमारको हालको सम्झौता २०२७ सम्म रहेको छ, जबसम्म उनी ३५ वर्षको हुनेछन्, त्यसैले यो क्लबका लागि चिन्ताको विषय होइन।
तर हाल विभिन्न स्टार खेलाडीको भविष्य पीएसजीमा अनिश्चित रहेको हुँदा क्लब कुन खेलाडीमा दाउ खेल्न सक्छ भन्ने जान्नु उपयोगी हुनेछ। लियोनल मेस्सीले जारी सिजनको अन्त्यसम्म मात्र पीएसजी प्रोजेक्टमा साइन गरेका छन् भने किलियन एम्बाप्पेको लिग १ क्लब सँगको सम्झौता २०२४ को गर्मीमा सकिँदैछ।