काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेकी हुन् ।
भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।
सो अवसरमा भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन् भने शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा गरेकामा बधाई दिएका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भण्डारीलाई हिजै औपचारिक रूपमा बिदाइ गरिएको छ । उनी आज शीतल निवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा गर्दैछन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुनः २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् । नवनिर्वाचित राष्ट्रपतिको शपथ सोमबार दिउँसो १ बजे शीतल निवासमा तय गरिएको छ ।