काठमाडौँ । टिकटकमा गिफ्टका लागि छाडा हाउभाउ र एक्स्पोजरसहित बस्नेहरु तपाईहरुले ख्याल गर्नु भएको छ ? हो, अहिले छाडापन, अश्लिलता, यौनजन्य क्रियाकलापसहित सामाजिक सञ्जालमा लाइभ आउनेहरुको उद्देश्य पैसा पनि हुने गर्छ । पैसाकालागि यस्ता हर्कत गर्नेहरु सक्रिय छन् । टिकटक जस्तै एउटा एप्स छ– ‘बिगो’ भन्ने । यो एप्समा यस्तै अश्लिल हर्कत गर्न तयार हुने किशोरीहरुलाई लाइभ सञ्चालन गर्नेहरुले उक्साउँछन् । यौनजन्य क्रियाकलापसहित लाइभका लागि भिडियो तयार पार्छन् र त्यस्तो भिडियो लाइभमा राखेर गिफ्ट संकलन गर्छन् । यस्तो धन्दाको सिकार भएकी एक युवती अहिले समस्यामा परेकी छिन् । आफ्नो गोप्य भिडियो सार्वजनिक हुने डरले ती किशोरी तनावमा छिन् । उनलाई यस्तो समस्या कसरी भयो त ?
‘बिगो लाइभ’ नामक एप्लिकेसनको लाइभमा बसेर बालिकाहरुलाई उत्पिडन गर्ने, यौनजन्य भिडियो निर्माण गराउने र त्यस्ता सामाग्री सार्वजनिक गर्ने भन्दै धम्क्याएर रकम असूली गर्ने एउटा गिरोहको धन्दा फेला परेको छ ।
यस्तो धन्दामा फसेकी एक किशोरीको मामिला लिएर एक व्यक्ति कार्यक्रम सिधाकुरा जनतासँगको सम्पर्कमा आइपुगेका छन् । उनको दावीअनुसार बिगो लाइभमा पुगेकी किशोरीको यौनजन्य भिडियो ३८ वर्षीय रामकुमार रायमाझीले फेला परेका छन् । भनेबमोजिमको रकम नदिए सो भिडियो ‘अश्लिल भिडियो राखिने वेभसाइटमार्फत सार्वजनिक गरिदिने धम्की रायमाझीले दिने गरेका छन् ।
रायमाझीले बिगो लाइभमा ‘लर्ड बुद्ध’ नामक समूह सञ्चालन गर्थे । बिगो लाइभमा यौनजन्य हर्कतसहित किशोरीहरु जोडिने गर्छन् । यस्तो हर्कत हेर्न पुग्नेहरुले दिने उपहारलाई आयको माध्यम बनाउन गिरोहरु सक्रिय हुन थालेका छन् । तिनै गिरोहको चंगुलमा फसेकी किशोरीले आफ्ना साथीसँग गरेको विलौनाको अंश तल भिडियाेमा सुन्नुहोस् ।
१७ वर्षकी ती किशोरीले सामाजिक सञ्जालमै ‘बिगो लाइभमा जोडिएर पैसा कमाउन सकिने’ विज्ञापन देखेकी थिइन् । पैसा कमाउने प्रलोभनमा परेर उनले बिगो एप पनि आफ्नो मोबाइलमा डाउनलोड गरिन् । यसपछि उनी लर्ड बुद्ध नामक समूहका रिक्रुयुटर रामकुमार रायमाझीको सम्पर्कमा जोडिइन् । रायमाझीले भनेबमोजिम निर्वस्त्र भएर भिडियो बनाइन् ।
आफ्नो गोपनियता खुल्ने डरले ती किशोरी हाम्रो कार्यालयमा आउन चाहिनन् । किशोरीको दावीअनुसार रायमाझीले करकापमा पारेर निर्वस्त्र भिडियो बनाउन लगाएको जनाएकी छ्नि । यसरी बनाइएको भिडियो लर्ड बुद्ध नामक समूहका अन्य सदस्यलाई पनि रायमाझीले साझा गरेको उनले जानकारी दिएकी छिन् ।
निर्वस्त्र भिडियो रायमाझीको हात परेपछि अहिले पीडित युवती र पीडक रायमाझी दुवै सम्पर्कविहिन बनेका छन् । युवतीको खोजी हुनु पर्ने माग गर्दै उनका साथी हाम्रो कार्यालय र अन्य निकायमा धाइरहेका छन् । रायमाझीको चाहिँ मोबाइल स्वीच अफ छ ।
भिडियो मेटाइ दिन किशोरीले पटक पटक आग्रह गरे पनि रायमाझीले स्वीकार गरेका छैनन् । भिडियो नमेटाइए वा फिर्ता नगरिए प्रहरीमा उजरी गर्ने पीडित किशोरीले बताएकी छिन् । रायमाझीले भने अश्लिल साइटमा भिडियो अपलोड गरिदिने भन्दै किशोरीलाई धम्की दिने र सताउने गर्न थालेका छन् ।
नेपालमा करिब १५ देखि २० वटा बिगों लाईभ समूहहरु बढी सक्रिय छन् । टिकटकमा झै बिगो लाइभमा पनि मानिसहरु जोडिने गर्छन् । यौनजन्य हर्कत गरेर लाइभमा बस्दा दर्शकहरुले उपहार दिन्छन् । यस्तो उपहार समूह सञ्चालकको खातामा नगदमा परिणत भएर जम्मा हुन्छ । तिनै समूह सञ्चालकले प्राप्त आयलाई आफ्ना महिला सदस्यहरुमा भागबन्डा गर्छन् । टिकटकमा झै छाडा यौनजन्य क्रियाकलाप गरेर बिगो लाइभमा आउनेहरुले यहि कामलाई नै आम्दानीको स्रोत बनाइरहेका छन् । यसमा महिलाहरुलाई दुरुपयोग गरेर समूह सञ्चालकले धन्दा चलाइरहेको देखिन्छ । बिगोको लाइभमा आउनेहरुहरुले गर्ने हर्कत यी स्क्रिन सटबाट पनि प्रष्ट हुन्छ ।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुमा छाडापन बढ्दै गएको छ । यस्ता क्रियाकलापमा केही महिलाहरु राजीखुसीले प्रस्तुत हुन्छन् । कतिपय चाहिँ गिरोहको चंगुलमा पर्ने गरेको पनि पाइएको छ । सामाजिक सञ्जालबाट यौनजन्य कार्यहरुमा पुरुषहरु बढी जोडिन्छन् । ती मध्ये केही पुरुषहरु पनि पीडित भएका छन् । केही पुरुषहरु अञ्जानबस पनि गिरोहबाट प्रताडित भएको भन्दै गुनासो गर्न हाम्रो कार्यालयमा आइपुगेका छन् ।
सामाजिक सञ्जालको दूरुपयोग गरी रकम ठग्ने, खरिद नै नगरेको चिठ्ठा पर्यो भन्दै ठग्ने, महिलाहरुले नै यौनजन्य क्रियाकलापमा संलग्न हुन उक्साउने र पछि त्यही कर्मलाई ब्लाक मेलिङको अस्त्र बनाउने जस्ता अपराधहरु भइरहेका छन् ।