काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आदेश आजै आउने बताइएको छ ।
३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका थिए । प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले मुद्दा दायर गरेका थिए ।
यसअघि बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। हिजो उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो । प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफूमाथि १७ हजार हत्या गरेको आरोप लाग्ने गरेको भन्दै सबै आरोप आफूमाथि लगाए अन्याय हुने बताएका थिए । तर आफूले पाँच हजारको जिम्मा लिन तयार रहेको र बाँकी १२ हजारको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने उनको भनाई थियो ।