काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभामा हुने कार्यक्रममा सहभागी हुन रोकेपछि आफूहरुको अपमान भएको महसुश गर्दै सरकारबाट बाहिरिने एमालेले निर्णय गरेको थियो ।
प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारलाई समर्थन दिएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिने तयारीमा पुगेको छ । एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।