काठमाण्डौँ । राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगेकाे भए पनि सत्ता गठबन्धन जाेगिने सम्भावना अझै रहेको छ माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बुझिएको छ ।
माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आशय देखाएकाे छ । माओवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा २६ पुसमा गरेको सम्बोधनबाट झस्केको छ । सरकारले विश्वासको मत लिएको दिन अध्यक्ष ओलीले आफूले दुईपटक गरेको संसद विघटन ठीक थियो भनेपछि प्रधानमन्त्री प्रचण्ड झस्केका थिए । साढे दुई वर्षपछि पुन: ओली त्यही विघटनको बाटोमा जान सक्ने भन्दै प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नचाहेको बताइन्छ ।
आफूलाई पाँच वर्षका लागि नै प्रधानमन्त्री हुने लिखित सम्झौता ओलीले गरे प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार रहेको माओवादीका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘पाँच वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुने लिखित सम्झौता गरे एमालेलाई राष्ट्रपति दिने कुरा हुन्छ । नत्र हुँदैन । सभामुख, राष्ट्रपति र प्रधानमन्त्री एमालेको हुने गरी अब गठबन्धनसँगै जाँदैन । प्रधानमन्त्री पाँच वर्ष प्रचण्ड हुने सुनिश्चितता चाहियो ।’
एमालेको सभामुख र राष्ट्रपति भए पनि माओवादी आफू पाँच वर्ष प्रधानमन्त्री हुने र वाम गठबन्धन निरन्तर अगाडि बढाउने विकल्पमा पनि छलफल गर्ने तयारीमा माओवादी रहेको स्रोतले बतायाे ।