काठमाडौँ । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । आइतबार निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएसँगै नयाँ ट्वीस्ट आएको हो ।
धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतका अनुसार निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमान्ले हेरविचार नगरेको भन्दै अंश मुद्दा दर्ता गराएकी हुन् । निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् शिवराज श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् ।
निहारिकाले आइतबार धनुषा जिल्ला अदालतमा दर्ता नम्बर ०७९–CP–१९७९ बाट अंश मुद्दा दर्ता गराएकी हुन् । जिल्ला अदालतले एक सातापछिको तारेख दिए पनि निहारिकाले उच्च अदालतमा पेसीको मिति आउनु अगावै सबै प्रक्रिया पूरा गर्ने भन्दै सोमबारकै लागि प्रतिउत्तरको समय माग गरेकी छिन् । सोही अनुसार माघ १६ गते सोमबार नै आरोपित शिवराज श्रेष्ठले त्यसको प्रतिउत्तर दिने तयारी गरेका छन् ।
हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् । श्रेष्तेदार बस्नेतले भने, ‘वास्तवमा यो अंशका लागि भन्दा पनि नाता कायमका लागि प्रक्रिया पूरा गर्न खोजिएको जस्तो बुझिन्छ । उनीहरू दुवै जना मिलेर बस्ने भन्दै आएका थिए । निवेदन भने निहारिकाले दिएकी छिन् ।’
अंश दाबी गर्दै मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ ।
स्मरणीय के छ भने सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । प्रेमी–प्रेमिका रहेकै समयमा यौनसम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो । सोनालीले तत्कालै श्रीमती बनाएर घर लैजान दबाब दिए पनि हजुरबुवाको निधन भएको कारण तत्कालै विवाह गर्न नसक्ने बताएपछि सोनालीले धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।
धनुषा जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाइ दिँदै प्रतिवादी शिवराज श्रेष्ठ र जाहेरीवाली सोनाली कुमारी सिंहबीचको नाता सम्बन्धका विषयमा छुट्टै कानुनबाट सम्बोधन हुने भन्दै बलात्कार नभएको ठहर गरेको थियो । जिल्ला अदालतले शिवराजलाई सफाइ दिएपछि निहारिका उच्च अदालत जनकपुरमा पुनरावेदन लिएर पुगेकी थिइन् । उच्च अदालत जनकपुरमा निहारिका र शिवराज श्रेष्ठको बलात्कार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।
उच्च अदालत जनकपुरमा बलात्कारको मुद्दा विचाराधीन अवस्थामै रहेको समयमा निहारिका आफैँले अंश मुद्दा दर्ता गर्दै नाता कायम गर्न खोजेपछि उनीहरुबीच मेलमिलाप भएको आङ्कलन गरिएको छ । जिल्ला अदालतबाट अंशको मुद्दामा मेलमिलाप गरी नाता कायम गर्ने र सोही ब्यहोरा उच्च अदालतमा पेस गर्दै श्रीमान्–श्रीमतीको रूपमा बस्ने तयारी रहेको बुझिएको छ ।