काठमाडौ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेका छन् । मंगलवार नै ड्राफ्ट गरिएको निर्णय बुधवार बसेको बैठकले औपचारीक रुप दिएको हो । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । निर्णय अनुसार अब जेठ महिना भरी नै निषेधाज्ञा रहने छ । निर्णयमा अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । तर पछिल्लो पटक थपिएको निषेधाज्ञामा भने केही परिवर्तन गरिएको छ । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म संचालन गर्न पाइन् छन् । तर त्यसका लागि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ ।
बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।