काठमाडौँ । पत्रकारको नक्कली परिचय पत्र र प्रेस अंकित ज्याकेट बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले एउटा प्रेस कार्डको पाँच सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको बताएको छ । बागबजारस्थित ‘कालिका डिजाइन’बाट उक्त गिरोहलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाले बताएको छ ।
निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो आएपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा भएको प्रहरी र स्थानीयबीचको झडपमा ‘प्रेस’ अंकित ज्याकेट लगाएका व्यक्तिले एक हातमा क्यामेरा लिएर अर्को हातले प्रहरीमाथि ढुंगा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।