लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका ७, बरेटारस्थित आदर्श बाल माध्यामिक विद्यालयको खानेपानी ट्यांकी सफा गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्लम्बिङकार्य सिक्दै गरेका सुन्दरबजार नगरपालिका ९ भोटेओडार बालुनेका ३५ वर्षीय निरव श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युतीय मोटर जडान गरेर ट्यांकी सफा गर्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको र उपचारका लागि सुन्दरबजार अस्पातालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदिश रेग्मीका अनुसार मंगलबार बिहान पौने १२ बजेतिर उक्त घटना घटेपछि घाइतेलाई तत्काल सुन्दरबजार अस्पताल लगिएको थियो । अस्पताल लानेबित्तिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
श्रेष्ठसहित तीन जनाले सफा गर्ने क्रममा श्रेष्ठ ट्यांकीभित्र प्रवेश गरेका थिए । अन्य दुई जना बाहिरै रहेका कारण सकुशल रहेको प्रहरीले बताएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै बुधबारदेखि पठनपाठन गर्ने तयारी भइरहेकोमा मंगलबार विद्यालयको खानेपानी ट्यांकी सफा गर्न लागेको विद्यालयले जनाएको छ । ट्यांकी सफा गर्ने क्रममा मोटर चलिरहेको अवस्थामा ट्यांकीभित्र पस्दा श्रेष्ठलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।