काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूले कसैसँग घुस लिएको वा पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रविले सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको बताएका थिए । उनले पत्रकार ऋषि धमलासँग अन्तरवार्ता दिँदै रविले मन्त्री बनाउँदा ८ करोड खाएको र सिधा कुरा चलाउँदा मसँग २५ लाख मागेको दाबी गरेका थिए ।
उक्त दाबीको जवाफ फर्काउँदै लामिछानेले प्रमाणित गर्न चुनौती दिएका हुन् । ‘मैले अहिलेसम्म कसैको एक सुक्का खाएको छैन । कसैको एक सुक्काको लोभ छैन, मलाई २४ करोडमा किन्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ,’ सभापति लामिछानेले अगाडि भने, ‘तर मेरो गुनासो केही छैन उहाँप्रति धन्यवाद छ । आभार छ, जसले मेरा ती कुराहरू बाहिर ल्याइदिनुभयो । प्रमाणित भएको खण्डमा उहाँलाई फूलामाला लिएर धन्यवाद दिनेछु ।’
उनले बेइमानी गर्नेलाई नङ्ग्याउने बताए । ‘कुनै बेइमानले मेरो नाम दिएर पैसा असुली गर्यो भने मैले त्यसको सजाए भोग्नु पर्दैन,’ उनले भने, ‘त्यो बेइमानलाई नङ्ग्याउन मलाई आउँछ । हामी पुराना भ्रष्टाचारका फाइल खोल्नुपर्छ भन्ने दलका मान्छे हुँ । तर चुनाव हराउने षडयन्त्र भए सहन सकिँदैन ।’
रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि रवि लामिछानेको कोर टीमका सदस्यलाई पैसा बुझाउन भन्दै दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडिओमा श्रेष्ठले मन्त्री बन्न रविका मान्छेलाई २ करोड बुझाउनु पर्ने बताएका थिए । त्यसको साँझ दुर्गा प्रसाईँले रविले नै मन्त्री बनाउँदा ८ करोड खाएको र सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको दाबी गरेका थिए ।