काठमाडौं । नेपालमा पाइने उत्कृष्ट ह्याचव्याक कारमा रेनो क्वीड पर्छ । संचालन लागत निकै कम पर्ने रेनो क्वीड क्रसओभर डिजाइनको कारण सफल मोडल हो ।
एड्भान्स अटोमोवाइलले नेपालमा विक्री गर्दै आएको रेनो क्वीड सन् २०१७ देखि नेपालमा विक्री हुँदै आएको मोडल हो । कम्प्याक्ट साइज, यूरोपियन डिजाइन र उत्कृष्ट माइलेजको कारण मानिसले क्वीडलाई मनपराउँदै आएका हुन् ।
अहिले २६ लाख ७९ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको क्वीड ह्याचव्याक सेग्मेन्टकै सबैभन्दा कम मूल्यको कार हो । विशेषगरी सुजुकी सेलेरियोसँग सिधा प्रतिस्पर्धा हुने क्वीड मूल्यमा भने सेलेरियोभन्दा कममा किन्न पाइन्छ ।
बैशाख लागेसँगै बैंक ब्याजदर केही घट्ने प्रक्षेपण भइरहेको छ भने, बैंकहरुसँग लगानी योग्य रकम पनि छ । त्यस्तोमा नयाँ वर्षको अवसरमा एउटा सानो कार किन्न चाहने मानिसले मासिक २४ हजार ४ सय रुपैयाँ किस्ता तिर्नेगरी रेनो क्वीड ह्याचव्याक खरिद गर्न सक्नेछन् ।
अहिले १३ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने अवस्था आएको छ । गाडी किन्ने ग्राहकलाई बैंकले ७ वर्षको कर्जा सुविधा उपलब्ध गराउने भएको कारण ग्राहकले आफ्नो कमाईबाट थोरै रकम किस्ता तिर्दा क्वीड चढ्न पाउने छन् ।
सुरुमा गाडी किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । २६ लाख ७९ हजार मूल्य भएको क्वीडको आरएक्सटी फुल अप्सन ह्याचव्याक खरिद गर्नेले डाउन पेमेन्ट वापत १३ लाख ३९ हजार ५०० रुपैयाँ बुझाउनु पर्छ भने त्यति नै रकम कर्जा सुविधा पाउनु हुनेछ ।
यस्तो छ क्वीड
रेनो क्वीडमा बीएस ६ मापदण्डको १.० लिटर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६८ पीएस पावर र ९१ एनएम टर्क प्रदान गर्छ । आकर्षक फ्रनट ग्रिल, स्टाइलिस बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलले यसलाई उत्कृष्ट देखाएको छ ।
कम मूल्यको मोडल भएर पनि आधुनिक फिचर दिइएको क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर छन् ।
यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमले कारलाई उत्कृष्ट देखाएको छ ।