नेपाल उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले यात्रुको ब्यागेज व्यवस्थापनमा खटिने कर्मचारीलाई अब ‘खल्ती नभएको पोशाक’ दिने भएको छ । ब्यागेज तोडफोड तथा यात्रुका सामान चोरीका गुनासाहरु आएको भन्दै क्यानको विमानस्थल कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो ।
अब ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई खल्तीरहित पोशाक उपलब्ध गराइने र यसको सबै प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ब्यागेज व्यवस्थापनका लागि खल्ती नभएको पोशाक नेपाल एयरलाइन्सले उपलब्ध गराउनेछ ।
‘चोरी भयो भनेर कहिले कहीँ कुराहरु आउँछन्, त्यस्तो नहोस् आरोप नआओस् भनेर पकेट लेस युनिफर्मको व्यवस्था गर्न लागिएको हो, यो काम आरए (नेपाल एयरलाइन्स)ले गर्छ’ उनले भने ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्दै आएको छ ।
सोही अनुसार ब्यागेज व्यवस्थापनमा पनि उसैका कर्मचारी खटिने भएकाले आफ्ना कर्मचारीलाई खल्ती नभएको पोशाक पनि उसैले व्यवस्था गर्नुपर्ने भएको हो ।बिहीबार त्रिभुवन विमानस्थलमा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैठक राखेरै तत्काल सुधार गर्न भनेका थिए ।