काठमाडौं । सरकारले अब लकडाउन नहुने बताइसकेको छ । तर, बुधबारदेखि सरकारी कार्यालयहरूले धमाधम सेवा कटौती गर्दै गएपछि देश फेरि लकडाउनतर्फ मोडिएको हो ।गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर सबै जिल्ला प्रशासन कार्यालयलाई अर्को निर्णय नभएसम्मका लागि सवारी पास रोक्न निर्देशन दिएको छ । विभिन्न जिल्लाले अनिश्चितकालीन निषेधाज्ञा गरिरहेका छन् । सवारी पास रोकिएपछि अब काठमाडौं आउन पनि सजिलो हुने छैन ।
सरकारले दुई सयभन्दा बढी संक्रमित देखिएका जिल्लामा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । लामो दूरीका यातायात खुलेका छैनन् । हवाई सेवा ठप्प छ । सरकारी सेवा प्रवाहका मालपोत, उद्योग, यातायात, महानगरलगायतका क्षेत्र बन्द गरिसकेको सरकारले निजी उद्योग व्यवसाय नै प्रभावित पार्नेगरी सवारी पाससम्बन्धी निर्णय गरेको छ । गृहको यस्तो परिपत्रले उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित हुनेछन् ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड–१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति निकाल्दै होटल, रेस्टुरेन्ट र उद्योगमा काम गर्नेलाई कोरोना संक्रमण भए आफ्नै खर्चमा पिसिआर टेस्ट गर्न बनेको छ । सरकारको यो निर्णयले अब होटल र रेस्टुरेन्ट बन्द गर भनेर अप्रत्यक्ष रूपमा दबाब दिइएको व्यवसायीहरूको भनाइ छ ।
यस्तै, सूचना विभागले बिहीबारदेखि पत्रकारको सञ्चार पास नवीकरण बन्द गर्ने निर्णय गरेको छ । अन्य सरकारी कार्यालय पनि बिहीबारदेखि कर्मचारी कटौती गर्ने भएका छन् । विभिन्न बैंकहरूले आफ्नो ५० प्रतिशत मात्र सेवा सञ्चालन हुने बताएका छन् । यो स्थितिले मुलुक फेरि साउन ६ गतेअघिको अवस्थामा पुग्ने देखिएको छ ।