काठमाडौं। सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । पत्रकार बानियाँको शव मकवानपुरकाे सिस्नेरीस्थित माण्डाे खाेलामा भेटिएकाे अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभएको छ ।
पत्रकार बानियाँकाे परिवारलाई तस्बिर देखाएर शवको सनाखत गरिएको एसएपसी थापाले बताउनुभयो । पत्रकार बानियाँ दुई दिनदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्थ्यो । दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा खोजीका लागि निवेदन दिएका थिए ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा बानियाँको खोजी थालेको थियो । बानियाँको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।
अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएको त्यहाँका स्थानीयले जानकारी दिएका थिए । बाटो छेउबाट बानियाँलाई हिलैहिलो हिँडेको देखेपछि स्थानीयले त्यता नजान समेत भनेका थिए ।
खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बानियाँको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।
पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।