काठमाडौं । लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले सबै जिल्लामा सवारी पास बन्द गरेको हो । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन लाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमण बढेपछि गृहमन्त्रालयले सवारी पास बन्द गर्ने निर्णय गरेको हो । .“हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
सरकारले यसअघि अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोरोना भाइरस संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत संक्रमण बढिरहेको छ । कोरोना संक्रमण बढेपछि सरकारले काठमाडौं उपत्यका प्रवेशमा समेत कडाई गरेको छ ।