स्वर्गीय अभिनेता बिएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले एक लाख रुपौयाँ सहयोग गरेको छ।चलचित्र विकास बोर्डअन्तर्गत रहेको उक्त कोषले बुधबार हाल उनीहरू रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरिएको हो।चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले हस्तान्तरण सहयाेग हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकारहरू उपस्थित थिए।
सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठ्याराेमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए।
उनले भने, ‘यदि हामीसँग पर्याप्त रकम भइदिएको भए हामीले दिल खोलेर सहयोग गर्न सक्थ्यौँ। कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था पनि छैन। हामीसँग त्यो क्षेत्राधिकार नै छैन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूले कोषमा रकम जम्मा गर्नको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो। आशा गरौँ राज्यको तर्फबाट कोषमा उल्लेख्य रकम थप हुनेछ।’
साथै केसीले आफू अध्यक्ष भएर बोर्ड आउनेबित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यो कुरा राखेको र त्यो समयमा उनी सकारात्मक रहेको बताउँदै राज्यले कलाकारहरूलाई विशेष चासोमा राख्नुपर्ने आवश्यकता औँल्याए।
गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुंगाबाट उद्दार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्नेही काखले उद्दार गरेर अस्पताल भर्ना गरेको थियो।
वि.सं २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आएका राणाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।
वसन्ती, बलिदान,दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आइएम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, दाग लगायतका चलचित्रहरूमा उनले अभिनय गरेका थिए।
राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि उनकी श्रीमती हनी र कान्छी छोरी आरतिमा मानसिक समस्या देखिएको थियो।
जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन्। राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो।