काठमाडौं, चैत ९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताप्लेजुङ-काठमाडौं उडानमा शंकास्पद गतिविधि देखिएसँगै आइतबार उडानका चालक दलको बयान लिएको छ। प्राधिकरणले बयानका लागि ताप्लेजुमा कार्यरत ग्राउण्ड स्टाफलाई काठमाडौंमा बोलाइसकेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।
‘हामीले बुधबार काठमाडौंमा रहेका कर्मचारीको बयान लिएका छौं। उता ताप्लेजुङबाट पनि यो उडानका क्रममा सहभागी कर्मचारीलाई यहाँ बोलाएका छौं। सबै कर्मचारीसँग लिएको बयानका आधारमा हामी कारवाही अगाडि बढाउँछौं,’ प्रवक्ता निरौलाले भने।
सोमबार भएको यो उडानमा आवद्ध नेपाल वायुसेवा निगमका ६ जना कर्मचारीलाई प्राधिकरणले ग्राउण्डेड गरिसकेको छ।तोकिएको वजन भन्दा बढी र पुरुषलाई महिला बनाएर जहाजमा ल्याएको भन्दै उनीहरुलाई कारवाही गरिएको हो।
सोमबार विहानको ९ एन-एबीटी कलसाइनको जहाजमा तोकिएभन्दा एक सय पाँच टन वजन बढी देखाएको थियो। सवार १५ जना यात्रु मध्ये ६ जना पुरुष र ९ जना महिला थिए। तर हेर्दा ७ जना पुरुष भेटिएपछि ६ जना कर्मचारीलाई ग्राउण्डेड गरिएको प्राधिकरणले जनाएको छ।
सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ
नेपालगञ्ज, ९ चैत (रासस) :
बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ ।
आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ । “काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन”, अधिकृत खड्काले भन्नुभयो ।
साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।
–––