काठमाडौं । अभिनेत्री नीता ढुंगानाले कामको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् ।
भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन् ।
ढुंगानाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेखेर उक्त भ्रामक हेडलाइन प्रति भर्त्सना प्रकट गर्दै प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएकी छन् ।
ढुंगाना अभिनित म्युजिक भिडियाे ‘मरिहत्ते’ को बिहीबार एक पत्रकार सम्मेलन कार्यक्रममा उनलाई भिडियाे गर्दाको अनुभवबारे सोधिएको थियो । भिडियोमा उनी गर्भवती महिलाको भूमिकामा प्रस्तुत भएकी छन् । सोही चरित्र निभाउँदाको अनुभवबारे आफ्ना धारणाहरु व्यक्त गरेकी थिइन् ।
अन्तरर्वार्तापछि भिडियोहरु सार्वजनिक हुँदा युट्युवभरि आफू गर्भवती भएको र आमा बनेको हेडलाइनले आफ्नो व्यक्तिगत जीवनमा समेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
यस्तो छ ढुंगानाको फेसबुक स्टाटस :
‘कलाकार भएपछी विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ । विहिबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता कृयाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद‘