काठमाडौँ
गोपीकृष्ण सिनेमा हलकी सञ्चालक निकिता पौडेलले ‘नारी टिभी’ खोल्ने भएकी छिन् । १३३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले यो घोषणा गरेकी हुन् ।हाल सञ्चालनमा आइरहेको ‘टिभी फिल्मी’ को नाम परिवर्तन गरेर ‘नारी टिभी’ राख्ने उनले बताइन् । उनले आफ्नो टिभीलाई नारीहरूप्रति समर्पित गर्ने पनि बताइन् ।
‘टिभी फिल्मी’ अब छिट्टै ‘नारी टिभी’ बनेर आउनेछ । आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ,’ निकिताले भनिन् । नारी टिभी च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरूलाई नै प्राथमिकतामा राखिने उनको भनाइ छ ।
‘नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरू अधिकांश नारीहरूमै केन्द्रित रहनेछन् । महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरूलाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरूका प्रेरणादायी कथाहरू देखाउनेलगायतका कार्यक्रम यस च्यानलमा प्रसारण गरिनेछन्,’ उनले भनिन् ।