मानिसहरु आफ्नो शरीरको अंगलाई सुन्दर र आकर्षक बनाउन अनेकन उपाय अपनाउँछन् । त्यसका लागि ठूलो धनराशी समेत खर्च गर्छन् । पछिल्लो समय कस्मेटिक सर्जरीको ट्रेन्ड नै चलेको छ । विशेषगरी यो मामलामा सेलिब्रेटीहरु अगाडि छन् । विश्वका धेरै कलाकारले आफ्नो अंगलाई सुन्दर बनाउन सर्जरी गरेका छन् । केही नेपाली सेलिब्रेटीहरुले पनि यो उपाय अपनाएका छन् ।
ब्यूटी प्रोसिजरको माध्यमबाट शरीरको प्राकृतिक अंगको आकार बदल्ने नेपाली अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पर्छिन् । उनले आफ्नो ओठलाई आकर्षक बनाउन लिप फिलर्सको मद्दत लिएकी छन् । यस समाचारमा राखिएको तस्विरबाट पनि त्यो बुझ्न सकिन्छ । र, साम्राज्ञी आफैंले पनि हालसालै एक पत्रकारसँग कुराकानी गर्ने क्रममा आफूले ओठ बनाएको स्वीकार गरेकी छन् ।
उनले तीन वर्ष अगाडि लिप फिलर्सको माध्यमबाट आफ्नो ओठको आकार केही मोटो बनाएकी हुन् । नेपालमा यो नौलो भए पनि हलिउड/बलिउडका धेरै अभिनेत्रीहरुले ओठलाई आकर्षक बनाउन लिप फिलर्स गरेका छन् । विशेषगरी हलिउड मोडल काइली जेन्नरले आफ्नो पातलो ओठलाई मोटो बनाउन लिप फिलर्सको प्रयोग गरेपछि विश्वमा नै लिप फिलर्सको ट्रेन्ड हौलाएको मानिन्छ ।
के हो लिप फिलर्स ?
कोही आफ्नो प्राकृतिक सौन्दर्यबाट खुसी छैन भने उनीहरुले चाहेको जसरी ब्यूटी प्रोसिजरको मद्दतबाट अंगको आकार परिवर्तन गर्न सक्छन् । त्यसमध्ये एक हो, लिप फिलर्स । ओठ पातलो हुनेले थोरै मोटो बनाउन लिप फिलर्सको मद्दत लिन सक्छन् । खासमा लिप फिलर्स अस्थायी सौन्दर्य उपचार हो, जुन चारदेखि छ महिनासम्म टिक्छ । यसलाई पटक-पटक दोहोर्याउन भने सकिन्छ ।
लिप फिलर्स विश्वमा लोकप्रिय हुनुको कारण यसले ओठको भोल्यूम र साइजलाई उत्कृष्ट तरिकाले बढाउँछ । फिलरमा कोलेजन र हाइलूरोनिक एसिडको प्रयोग हुन्छ । कोलेजनको उपयोगले ओठलाई मोटो बनाउँछ भने हयालूरोनिक एसिडले पानीलाई होल्ड गर्छ र ओठलाई पल्म्प गर्छ । लिप फिलर्सका लागि ओठमा सिरिन्जको प्रयोग गरिने भएकाले यो अत्यन्त दर्दनाक प्रक्रिया पनि हो ।