काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ड्रोन आतंक भएको छ ।
प्रधानमन्त्रीले डाकेका महत्वपूर्ण बैठकको समय तथा रातमा पनि ड्रोन उड्न थालेपछि आतंक सिर्जना भएको हो ।
प्रधानमन्त्रीले बोलाएका महत्वपूर्ण बैठक तथा भेटघाटको समय पारेर ड्रोन उडाउने गरिएको बालुवाटार सुरक्षा स्रोतले जानकारी दियो ।
यद्यपि, कसले र के प्रयोजनका लागि ड्रोन उडाउने गरेको छ भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन नसकेको स्रोतको भनाइ छ ।
‘सत्ता गठबन्धनको बैठक चलिरहेको समयमा पनि ड्रोन उडेको थियो, आज माओवादी धारका नेताहरूको बैठक बसेको समयमा पनि ड्रोन उडेको छ । ड्रोन पनि प्रधानमन्त्रीको सरकारी निवास परिसरभित्र नै उड्ने गरेको छ,’ स्रोतले भन्यो ।
यसरी ड्रोन उड्न थालेपछि नेपाल प्रहरीले कसले उडायो भनेर पत्ता लगाउने प्रयास गरेको छ । तर, प्रहरीले पनि कसले उडायो भनेर पत्ता लगाउन नसकेको स्रोतले जानकारी दियो ।
बालुवाटारमा ड्रोन आतंक बढेपछि नेपाली सेनाले पनि अनुसन्धान थालेको छ । तर, सेनाले पनि कसले ड्रोन उडायो भन्ने पत्ता लगाउन सकेको छैन ।
फागुन २१ गते सत्ता गठबन्धनको बैठक चलेको समयमा पनि प्रधानमन्त्रीको सरकारी निवास परिसरमा ड्रोन उडेको थियो ।
बेलुकी ५ बजेबाट सुरु भएको बैठक झन्डै ८ बजेसम्म बसेको थियो । साँझ पौने ७ बजेतिर बैठकस्थलमाथि ड्रोन उडाइएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सो बैठकमा नेपाली कांग्रेस, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीलगायत ८ दलका शीर्ष नेता सहभागी थिए ।
यस्तै, आज (फागुन २३ गते) पूर्वमाओवादी घटक नेताहरूको बैठक चलेको समयमा पनि ड्रोन उडाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सीपी गजुरेललगायत माओवादी धारका नेताहरू सहभागी थिए ।